सुकुम्वासी टोल चोर लुक्ने ठाउँ : प्रहरी
काठमाण्डौ, ३ माघ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले विहीबार शान्तिनगरस्थित सुकुम्वासी टोलबाट चोरीका विभिन्न सामान सहित ६ जनालाई पक्राउ गरेको खवर सुनेपछि चोरी भएको आफ्ना सामान फिर्ता पाउनको लागि पीडितहरु निवेदन दिन वृत्तमा पुगेका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ३१ शान्तिनगरस्थित सुकुम्वासी टोलमा विहीबार अपरान्ह ३ घण्टा चेकजाँच गर्ने क्रममा चोरीका सामान लुकाएर राखेको अवस्थामा सामान सहित ६ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले चोरी कार्यमा संलग्न रहेका नुवाकोट जिल्ला घर भई शान्तिनगरस्थित सुकुम्बासी टोल बस्ने १८ वर्षीय शशि तामाङ, सर्लाही करहथवा घर भई सोही टोलमा बस्ने १८ वर्षीय सरोज मगर, सुकुम्वासी टोल बस्ने २३ वर्षीय सुमन कलवारको साथै काठमाण्डौ जोरपाटी बस्ने १८ वर्षीय अजय मगर, रामेछाप घर भई ललितपुर ईमाडोल बस्ने २५ वर्षीय भानु मगर र सर्लाही हजरिया घर भई गैरीगाँउ, सिनामंगल बस्ने २४ वर्षीय सुमन माझीलाई चोरीका सामान सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट सुनको करीव डेढ तोलाको मंगलसुत्र १ थान , एसर कम्पनीको ल्यापटप २ थान, विभिन्न कम्पनीको मोबाईल १७ थान र नगद २ हजार ६ सय रूपैयासहित उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताए ।
वृत्तले चोरीको घटनाबारे थप अनुसन्धान गरिरहेको उल्लेख गर्दै नायव उपरिक्षक काफ्लेले कतै चोरी भएको या सामान हराएको भए दसीप्रमाणसहित वृत्तमा सामान दावी गर्न सर्वसाधारणसंग आग्रह गरेका छन् ।
चोर पक्राउ परेको थाहा पाएपछि माघ २ गते बुधबार आफ्नो कोठाबाट आइफोन ६ प्लस र सामसुंग कम्पनीको ग्यालेक्सी मोवाइल चोरी भएको भन्दै चोरीको अभियोगमा विहीबार पक्राउ परेका सुमन माझि विरुद्ध काभ्रे बनेपा नगरपालिका ६ बस्ने सुमी भण्डारीले प्रहरीमा जाहेरी दिएकी छिन ।
यसैगरि तिनकुनेस्थित आफ्नो कोठाबाट बुधबार नै सामसुंग ए फाइभ मोवाइल, हुवाई कमपनीको मोवाइल, कालो रंगको मोवाइल गरी ३ थान मोवाइल र नगद १९ हजार चोरी भएको भन्दै तिनकुने निवासी सिर्जना बस्नेतले वृत्तमा जाहेरी दिएकी छिन् ।
पछिल्लो समयमा बागमती र मनोहरा खोला किनारको सुकुम्वासी टोल अवैध घरेलु मदिरा उत्पादन र वेचविखन गर्न तथा विभिन्न ठाउँमा चोरी गरि चोरीका सामान लुकाउने क्षेत्रको रुपमा वदनाम हुँदै गएको वृत्त प्रमुख काफ्लेले बताए ।
एक महिनाको अवधिमा सुकुम्वासी टोलबाट प्रहरीले १३ हजार लिटर अवैध घरेलु मदिराको साथै मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको साथै प्रयोग गरिने भााडाकुडा बरामद गरि नष्ट गरेको थियो ।






