पोखरा, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को भारोत्तोलनमा नेपालले थप १ रजत र १ कास्य जितेको छ । योसँगै १३ औ सागमा भारोत्तोलनबाट नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जितेको छ ।
आइतबार सागर भण्डारीले पुरुष १०९ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमानसहित रजत जिते । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाए ।
यो विधामा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका हुन् । आइतबार नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो ।





