काठमाडौँ, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग)को आज साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गर्दै हुनुहुन्छ ।
करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको छ । प्रतियोगीतामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबार सम्पन्न भइसकेको छ ।
काठमाडाँै, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उठाउने हिसाबले ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताउनुभयो ।
उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहनेछ । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगीतालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ । सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।






