काठमाडौँ, ७ कार्तिक । मोडर्न इण्डीयन स्कूलले आफ्नो ४१ औं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । कार्यक्रमको उद्घाटन नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले दीप प्रज्वलन गरेर गर्नुभयो ।
स्कूलका प्रिन्सिपल राजु पिटरले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिक उत्सव कार्यक्रममा स्कूलले विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो ।

जसमा विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको महत्वपूर्ण पुरस्कार बेष्ट हार्ट एण्ड सोलद्वारा सिरु प्रधान र विप्लव थापा पुरस्कृत भएका थिए । त्यसै गरी विद्यालयका वर्षकै उत्कृष्ट खेलाडीका रूपमा सिनियरतर्फ प्रदीप्ती प्रधान तथा पीयूष प्रतीक एवं जुनियरतर्फ मुस्कान जयसवाल तथा मिनाल्ड लामिछाने पुरस्कृत भएका थिए ।
अल राउन्डर अवार्ड विज्ञ खतिवडा तथा मिहिर नरसिंह प्रधानले हात पारेका थिए । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिनुका साथै सुमधुर गीत संगीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि पुरीले विद्यालयलाई शुभकामना दिनुका साथै आगामी दिनमा यस विद्यालयको अझ प्रगति होस् भनी शुभकामना व्यक्त गर्नुभयो । विद्यालयले लामो समयदेखि नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सन्दर्भ पुरीले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विद्यालयका सञ्चालक श्री राधेश्याम सराफ, एम. ए. लारी एवं सरदार प्रितम सिंह साथै विभिन स्कूलका प्रिन्सिपल तथा सञ्चारकर्मीहरूको पनि गरिमामय उपस्थिति रहेको थियो । स्कूलका प्रिन्सिपल राजु पिटरले विद्यार्थीहरूले उक्त कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।







