काठमाडौँ, २७ भदौ । बेलायत सरकारको शैक्षिक नियोग ब्रिटिस काउन्सिलद्वारा हरेक वर्ष प्रदान गरिने ‘अन्तराष्ट्रिय स्कुल एवार्ड’ को कार्यक्रम तालीका अनुसार ट्रिटन सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेका ६ देखि ८ कक्षासम्मका ४० जना विद्यार्थीलाई सहभागी गराई ‘सडकमा विद्यार्थीको सुरक्षा’बारे विविध प्रशिक्षण दिइएको छ ।

राष्ट्रिय सभाकी सदस्य भावना सुवेदीको प्रमुख आतिथ्य तथा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा तथा सेफ स्कुल जोन नेपालका संयोजक तथा मोडेल इभेन्ट म्यानेजमेन्टका संयोजक ईश्वर बल्लभ उप्रेती, सेफ स्कुल जोन नेपालका विद्यालय संयोजक दिपक मैनाली तथा ट्रिटन स्कुलका निर्देशक राजन सुवेदीले सडकमा विद्यार्थीको सुरक्षाका लागि अपनाउनुपर्ने विविध उपायबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सडकमा विद्यार्थीको सुरक्षाबारेको वृत्तचित्र प्रदर्शन गर्नुका साथै विद्यार्थीहरुले यसबारे अन्तरक्रिया समेत गरेका थिए । विद्यालयको अंग्रेजी भाषा तथा सामाजिक शिक्षक सुलभ क्षेत्री तथा विद्या देउलाको संयोजनमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।






