भक्तपुर, १२ साउन । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण बहुमुखी क्याम्पसमा तीन बर्षे सिभिल इन्जिनियरिङ्गको पढाई हुने भएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त गरि यसै शैक्षिक सत्रबाटै डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गको सेमेष्टर प्रणालीको कक्षा सञ्चालन गर्नका लागि आवेदन खुला गरिएको विद्यालयका प्राचार्य इन्द्र प्रसाद कायस्थले जानकारी दिनुभयो ।
यसै वर्षबाट सिटिइभिटीइबाट स्विकृति प्राप्त गरेको कलेजले इन्जिनियरिङ्गको कक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी, दक्ष जनशक्ति र पूर्वाधार तयार गरिसकेको श्रीकृष्ण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले बताउनुभयो । उहाँले ४० सिटका लागि सम्बन्धन प्राप्त गरेको उल्लेख गर्दै तीन बर्षे इन्जिनियरिङ्ग कोर्ष पुरा गर्न २ लाख ५० हजार रुपैयाँ शुल्क लाग्ने बताउनुभयो ।
यसैबीच श्रीकृष्ण मावि तथा क्याम्पसले विद्यालय हाताभित्र विक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले एवाकार्डो, नासपाती, अम्बा, जुनार, अनार, सुन्तला, कागतीलगायतका ३ सय ५० विरुवा रोपेको जनाएको छ । चाँगुनारायण नगरपालिकाको सहयोगमा रोपिएका विरुवाबाट उत्पादित फलफुल बिद्यालयका विद्यार्थीहरुलाई खाजाको रुपमा खुवाउने योजना रहेको प्राचार्य कायस्थले जनाउनुभयो । विक्षारोपण कार्यक्रममा नगर प्रमुख सोम प्रसाद मिश्रले एक घर दुई विरुवाको अभियानसँगै विद्यालयमा फलफुलका विरुवा लगाउने अभियान सञ्चालन गरिएको बताउनुभयो ।





