काठमाडौँ, १३ असार । नेपालमा लायन एन्ड ड्रागन डान्सको तालिम उमा कुङ्फु बूढानीलकण्ठ क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले दिने भएका छन् ।
शुक्रबार क्लबको आयोजनामा भएको लायन एन्ड ड्रागन डान्स तालिमको समापनका अवसरमा उप–प्रधानमन्त्री एवं अर्थमन्त्री ईश्वर पोखरेलले ग्वाङझाव विश्वविद्यालयबाट प्राप्त पत्र सुकमानलाई हस्तान्तरण गरेका छन् ।
नीलकण्ठ क्लबका प्रमुख प्रशिक्षक सुकमान लामालाई नेपालमा लायन एन्ड ड्रागन डान्सको तालिम गराउन चीनको ग्वाङझाव विश्वविद्यालयले जिम्मेवारी प्रदान गरेको छ । १५ दिने तालिममा ५० खेलाडी सहभागिता थिए । उनीहरुलाई ग्वाङझाव विश्वविद्यालयका ग्रान्ड मास्टर लि डोङवियोले प्रशिक्षण दिएका थिए ।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले पदक विजेतालाई दोसल्ला ओढाउनुका साथै सम्मान–पत्र प्रदान गरी सम्मान गरेका थिए ।






