काठमाडौँ, २६ बैशाख । अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक भेटिएको छ ।
बुधबार गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात–हतियार भेटिएको थियो ।
अमेरिकाका दुई सुरक्षा एजेन्सीले संयुक्त रुपमा सो छापा मारेका थिए । सर्च अपरेसनमा अमेरिकाको ‘ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म एण्ड एक्स्प्लोसिभ्स’ र लस एन्जेल्स प्रहरी विभाग संलग्न थिए ।
घटनास्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउबारे प्रहरीले थप जानकारी बाहिर ल्याएको छैन । घटनास्थलको हवाई फुटेजमा सडकमा ओछ्याइएको त्रिपालमा सयौं बन्दुक राखिएको देखिन्छ ।




