काठमाडौँ, २० फागुन । एट्लान्टिक स्पोर्टस म्यानेजमेन्टले राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा यही चैत्र २४ देखि २९ गतेसम्म ललितपुरको सातदोबाटो स्थित एन्फा खेल मैदानमा “दोस्रो एसी मिलान जुनियर क्याम्प”को आयोजना गर्ने भएको छ ।
नेपालभरका सात देखि सत्र बर्षका १०० विद्यार्थीहरुलाई दिईने उक्त तालिम इटाली स्थित एसी मिलान क्लबका प्रशिक्षकहरुले दिनेछन् । नेपाली युवा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिन सो क्याम्पको आयोजना गर्न लागिएको हो । “२०१७ मा हामीले आयोजना गरेको पहिलो क्याम्पको सफलताले नै हामीलाई फेरि यो वर्ष पनि क्याम्प आयोजना गर्न हौसला प्रदान गरेको हो, युरोपमा गएरमात्र प्राप्त गर्न सकिने तालिम हामीले नेपालमा नै दिने ब्यवस्था मिलाएका हौं ।” एट्लान्टिक स्पोर्टस म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अशेष उप्रेतीले बताउनुभयो ।
क्याम्पमा सहभागी मध्येबाट उत्कृष्ट १ जनाले इटाली स्थित एसी मिलान क्लबमा नै गएर प्रशिक्षण लिने अवसर समेत प्राप्त गर्नेछन् । “हामीले आयोजना गर्न लागेको क्याम्पले खेलाडीको मात्र नभई नेपालको फुटवल विकासका लागि नै सहयोग गर्ने कुरामा हामी विश्वस्त छौ ।” क्याम्पका कार्यक्रम संयोजक, थम्मन भुसालले बताउनुभयो । पहिलो क्याम्पको सफल आयोजना पश्चात् फुटवलको विकास र विस्तारमा टेवा पु¥याउने कार्यको कदर स्वरुप एट्लान्टिक स्पोर्टस म्यानेजमेन्टले युरोपको प्रतिष्ठित “आर्क अफ युरोप २०१८” अवार्ड समेत प्राप्त गरेको थियो । यस बर्षको क्याम्पको इभेन्ट म्यानेजमेन्टको जिम्मा नेपालकै प्रतिष्ठिन ईभन्ट म्यानेजमेन्ट कम्पनी वान अप प्रा. लि. ले लिएको छ ।





