काठमाडौँ, ३ मंसिर । हिन्दी वेब सिरिज ‘पञ्चायत’ को बहुप्रतीक्षित पाँचौँ सिजन आगामी डिसेम्बर ३ देखि प्रसारण हुने भएको छ ।
डिजिटल प्लेटफर्म ‘प्राइम भिडियो’ ले बुधबार सिरिजको आधिकारिक रिलिज मिति घोषणा गरेको हो । ‘द भाइरल फिभर’ (टीभीएफ) द्वारा निर्मित यो नयाँ सिजन भारतसहित विश्वभरका २४० भन्दा बढी देश तथा क्षेत्रहरूमा एकसाथ रिलिज हुनेछ ।
यस सिजनमा ‘फुलेरा’को राजनीतिक शक्तिमा ठूलो फेरबदल देखिनेछ । गाउँमा नयाँ ‘प्रधानपति’का रूपमा बनराकस (दुर्गेश कुमार) र क्रान्ति देवी (सुनिता राजवार) सत्तामा पुगेपछि कथामा नयाँ राजनीतिक द्वन्द्व, हाँस्यव्यङ्ग्य र नाटकीय मोडहरू आउने बताइएको छ । बनराकसले फुलेरा गाउँलाई नयाँ दिशा दिन सक्छन् वा उनको दाबी फगत चुनावी नौटङ्की मात्रै साबित हुन्छ भन्ने विषय यस सिजनको मुख्य चासो रहनेछ ।
सिरिजमा ‘सचिवजी’ (अभिषेक त्रिपाठी) को भूमिकामा पुनः जितेन्द्र कुमार देखिनेछन् भने उनीसँगै रघुवीर यादव, नीना गुप्ता, चन्दन रोय, फैजल मलिक, सान्विका र अशोक पाठक लगायतका कलाकारहरूको अभिनय रहनेछ ।







