पाराग्वेका राष्ट्रपति पेनाद्वारा राजीनामा

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका राष्ट्रपति सान्तियागो पेनाले राजीनामा दिएका छन् ।

यस घटनाले देशको वित्तीय प्रणाली र लगानीकर्ताको विश्वासमा समेत असर पारेको छ । आफ्नो रुढिवादी कोलोराडो पार्टीको समर्थन गुमाएपछि र संसद्ले महाभियोग प्रक्रिया अघि बढाउन लागेको केही घण्टाअघि पेनाले बिहीबार पद छाडेका हुन् ।

सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उनले आफूमाथिका आरोपको प्रतिरक्षा गर्न सिनेटमा उपस्थित हुने बताएका छन् । ग्राहकको खातासम्बन्धी समस्या तत्काल समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

पेनाको राजीनामापछि पाराग्वेको सार्वभौम बन्डको मूल्य घटेको छ । मुद्रा गुआरानी अमेरिकी डलरको तुलनामा कमजोर हुँदै प्रतिडलर ६ हजार ४९० मा झरेको छ । सो दिन यसको मूल्य करिब पाँच प्रतिशतले घटेको थियो ।

यसै साता केन्द्रीय बैंकले न्यूनतम शोधन क्षमता सम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै यूएनोमाथि हस्तक्षेप गरेपछि संकट चुलिएको थियो । घटनापछि केन्द्रीय बैंकका प्रमुखले पद छाडेका छन् भने यूएनोका आठ कार्यकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूले पछि आत्मसमर्पण गरेका थिए ।

६५ लाख जनसंख्या भएको पाराग्वेमा यूएनो सामान्य फिनटेक कम्पनीबाट विस्तार हुँदै मध्यम आकारको बैंक बनेको थियो । यसले करिब ३० लाख ग्राहकलाई सेवा दिनुका साथै सरकारी निकाय र पेन्सनसँग सम्बन्धित रकमसहित करिब ८५ करोड अमेरिकी डलर बराबरको सार्वजनिक कोष व्यवस्थापन गर्दै आएको थियो ।

बैंकको पतनपछि बचत, भुक्तानी र भत्ताका लागि यूएनोमा निर्भर लाखौँ ग्राहक प्रभावित भएका छन् । 

विपक्षी सांसदहरूले पेनामाथि स्वार्थको द्वन्द्व, पेन्सन कोषको दुरुपयोग र बैंकलाई छानबिनबाट जोगाउन सहयोग गरेको आरोप लगाएका छन् । पेनाले भने कुनै पनि गैरकानुनी काममा संलग्नता अस्वीकार गर्दै यसलाई नियामकीय विषयका रूपमा प्रस्तुत गरेका छन् । रोयटर्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, २० कार्तिक । २०८३ साल कार्तिक २० गते शुक्रबारको राशिफल ।    मेष : दिन सामान्य छ। सञ्चित धन खर्च

काठमाडौँ, १९ कार्तिक । नजिकिँदै गरेका तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा योजना

काठमाडौँ, १९ कार्तिक । मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका