रुपन्देही, १८ कार्तिक । सरकारले लुम्बिनी विकास कोषको पदाधिकारीमा आवेदन नै नदिएका व्यक्तिलाई कार्यकारी पदमा नियुक्ति गरेको छ ।
मंगलबार मात्रै आवेदन नै नदिएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकार सन्तोष पाण्डेय लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई सदस्यसचिव नियुक्त गर्नुका साथै अन्य ४ जनालाई परिषद् सदस्यमा मनोनयन गरेको छ । नियुक्त हुने परिषद् सदस्यमा डा. अमित केसी, अर्जुन कुमी, उपेक्षा गुरुङ र दीपक कौशल छन् । यसअघि इच्छुक र विज्ञहरुलाई सम्बन्धित पदमा आवेदन मागेर सरकारले खुला प्रतिस्पर्धाबाट सार्वजनिक पदमा जिम्मेवारी दिन खोजेको भन्दै प्रशंसा भएको थियो तर नियुक्त दिने समयमा भने त्यसलाई बेवास्ता गर्दै आन्तरिक रुपमै निकटस्थहरुलाई जिम्मेवारी दिइएको हो ।
खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गर्ने प्रक्रिया अघि बढाए पनि सरकारले प्रतिस्पर्धामा सहभागी नै नभएका पूर्वाधार विकासमन्त्री सुनील लम्सालका प्रमुख सल्लाहकार पाण्डेलाई सदस्यसचिव नियुक्त गरेको हो । कोषका सदस्यसचिवसहित विभिन्न ६ पदका लागि ७ सय २७ जनाले आवेदन दिएका थिए। उपलब्ध आधिकारिक रोस्टर सूचीअनुसार सदस्यसचिव पदका लागि २ सय ९६, सदस्य पदका लागि २ सय २३, योजना प्रमुखका लागि १ सय १०, उपाध्यक्षका लागि १ सय २ र कोषाध्यक्षका लागि ७१ जनाले आवेदन दिएका थिए ।
५ पदाधिकारीमध्ये रोस्टर सूचीबाट खुला प्रतिस्पर्धामा सहभागी भएका अर्जुन कुमी र भिक्षुणी उपेक्षा गुरुङ मात्रै छनोट भएका छन् । सदस्यसचिव पाण्डे, डा. अमित केसी र दीपक कौशलको नाम भने मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक रोस्टरमा छैन । उनीहरूले खुला प्रतिस्पर्धाका लागि आवेदन दिएको थिएनन् ।
यसअघि असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा गायिका आनी छोइड डोल्मालाई नियुक्त गर्दा पनि प्रक्रिया र मापदण्ड मिचिएको भन्दै विरोध भएको थियो। उपाध्यक्ष पदका लागि रोष्टरमा १ सय ३ जना भए पनि प्रतिस्पर्धामा सहभागी नभएकी डोल्मालाई नियुक्त गरिएको भन्दै आलोचना भएको थियो।







