रुसी हवाई आक्रमणमा युक्रेनमा कम्तीमा ३३ जनाको मृत्यु

एजेन्सी, १८ कार्तिक । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य ५० जना बेपत्ता भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उक्त घटनालाई रुस–युक्रेन युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएका छन् । स्थानीय प्रशासनका अनुसार जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरस्थित उक्त भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए । भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिएको थियो ।

स्थानीय गभर्नर मिखाइलो सेमिकिनका अनुसार भवनको भूमिगत भागमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको बलियो आश्रयस्थल थियो । गत वर्ष निर्माण गरिएको उक्त संरचना अधिकांश हवाई आक्रमणको प्रभाव सहन सक्ने गरी बनाइएको थियो । तर, शक्तिशाली बमको प्रहारबाट कङ्क्रिट संरचना भत्किएपछि आगलागीसमेत भएको थियो ।

युद्धका कारण विद्यालय सञ्चालन हुन नसकेपछि उक्त भवनलाई स्थानीय प्रशासनिक कार्यालय र मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो । आक्रमण हुँदा त्यहाँ स्थानीय बासिन्दा राहत सामग्री लिन भेला भएका थिए ।

युक्रेनस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले मंगलबार जारी गरेको वक्तव्यमा आक्रमण भएको समय र स्थानबारे सर्वसाधारणलाई पहिल्यै जानकारी गराइएको उल्लेख गरेको छ । मिसन प्रमुख ड्यानियल बेलले मानवीय सहायता वितरण भइरहेको जानकारी रुसी सेनालाई भए पनि आक्रमण गरिएको वा आक्रमण गर्नुअघि आवश्यक सावधानी नअपनाइएको हुन सक्ने बताएकी छन् । उनले घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त उल्लङ्घन गरेको देखिने बताइन् ।

जेलेन्स्कीले अमेरिकाले ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न रुसलाई आग्रह गरिरहेको अवस्थामा पनि यस्ता हमला जारी रहनु चिन्ताजनक भएको बताएका छन् । उनले युक्रेनको हवाई सुरक्षा प्रणाली बलियो बनाउन अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी अमेरिकासँग सहयोग मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १८ कार्तिक । प्रहरीले ६ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट

काठमाडौँ, १८ कार्तिक । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । प्रहरीका

काठमाडौँ, १८ कार्तिक । रौतहटको गौर नगरपालिका ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन्

काठमाडौँ, १८ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate