काठमाडौँ, १४ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्न रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ ।
उक्त बजेटबाट विश्वविद्यालयका ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन र सेवा प्रवेश तालिम प्रदान गरिनेछ । त्रिविवि समन्वय महाशाखाद्वारा शुक्रबार आयोजित जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले नौ वटा शीर्षकमा तालिम सञ्चालन गर्ने कार्यक्रम तथा बजेट पारित गरेको हो ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा.अञ्जना सिंहको अध्यक्षतामा भएको बैठकले विश्वविद्यालय सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई सङ्गठनात्मक संरचना, कार्यप्रणाली, आचारसंहिता, अधिकार र कर्तव्यबारे अभिमुखीकरण गर्ने निर्णय गरेको छ ।






