काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा पैदल हिँडिरहेका दुई जना व्यक्तिको साथबाट उक्त रकम बरामद भएको हो ।
विशेष सूचनाका आधारमा प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा कल्याणपुर नगरपालिका–८ का ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाको साथबाट नक्कली नोट फेला परेको जनाएका छन् ।
हुसेन र मिँयाको साथबाट ५०० दरका तीन थान र १ हजार दरका २४ थान गरी जम्मा २७ थान नोट बरामद भएको र बरामद नोट २५ हजार ५ सय रुपैयाँ रहेको छ ।
दुवै जनालाई बरामद रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







