काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् ।
एक महिलासँग भएको फोन संवादका क्रममा उनले बोलेका भनिएका विषयमा सुनारले लिखित जवाफ पेस गरेको अनुशासन आयोगको उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिए ।
सुनारको प्रतिक्रिया आउनु अनुसन्धानको पहिलो चरण भएको आयोगले जनाएको छ । रास्वपाको अनुशासन आयोगले यही विषयमा छानबिन गर्न छुट्टै समिति पनि गठन गरेको छ । उक्त समितिलाई रायसहित प्रतिवेदन बनाउने अख्तियारी पाएको छ ।
समितिको कार्यावधि भने तोकिएको छैन । आयोगका उपप्रमुख भट्टराईको नेतृत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
आज बसेको छानबिन समितिको पहिलो बैठकले सुनारको संवाद भनि आएका अडियोहरू संकलन गरिसकेको उनले बताए ।







