कर्णालीका ६ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ, २९ असोज । कर्णाली प्रदेश सरकारका ६ मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज आफ्नो वेबसाइटमार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री मंगलबहादुर शाहीले भने यसअघि नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

सार्वजनिक विवरणानुसार, मन्त्रीहरूको सम्पत्तिमा घरजग्गा, सेयर लगानी, बैंक मौज्दात, सुनचाँदी, सवारीसाधन र ऋणको अवस्था फरक–फरक देखिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईका नाममा सम्पदा लघुवित्तमा मात्र ७२ लाख ३५ हजार ६०० रुपैयाँबराबरको सेयर लगानी छ । सामाजिक विकासमन्त्री जितबहादुर मल्लको परिवारका नाममा चार घर र विभिन्न ठाउँमा जग्गा रहेको विवरणमा उल्लेख छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले आफ्नो नाममा घर नभएको विवरण बुझाएकी छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री पछाई, सामाजिक विकासमन्त्री मल्ल र जलस्रोत र ऊर्जा विकासमन्त्री कलबहादुर हमाल नेकपा (एमाले)बाट मन्त्री बनेका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा, उद्योगमन्त्री कल्याणी खड्का र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मन्त्री बनेका हुन् ।

टेकराज पछाई : आफ्नै नाममा ७२ लाखभन्दा बढीको सेयर
आर्थिक मामिला तथा योजनामन्त्री पछाईको सम्पत्ति विवरणमा सेयर लगानी प्रमुख रूपमा देखिएको छ । उनको आफ्नै नाममा सम्पदा लघुवित्तमा ७२ लाख ३५ हजार ६०० रुपैयाँबराबरको सेयर रहेको उल्लेख छ ।

यस्तै, कमसम बचत तथा ऋण सहकारीमा दुई लाख रुपैयाँ लगानी छ । नबिल, कालिकालगायत लघुवित्त संस्थामा नौ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ ।

उनकी श्रीमती तिला आचार्यका नाममा एक्सपर्ट हाइड्रोपावरमा दुई लाख रुपैयाँ लगानी छ । आरम्भ चौतारी, सूर्यज्योति लाइफ, एलआइसी र त्रिशूली जलविद्युत्लगायत कम्पनीमा उनकी श्रीमतीका नाममा १६ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख छ । तर, यी सेयरको हालको बजार मूल्य खुलाइएको छैन ।

पछाईको बैंक खातामा आठ लाख रुपैयाँ मौज्दात छ । श्रीमती आचार्यका नाममा चार लाख १५ हजार रुपैयाँ बैंक मौज्दात छ । नागरिक लगानी कोषमा पछाईका नाममा तीन लाख ९२ हजार ६६४ र श्रीमतीका नाममा पाँच लाख २१ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

उनको सम्पत्ति विवरणमा दुई मोटरसाइकल तथा स्कुटर, सुनचाँदी र जुम्लामा लगाइएका स्याउ तथा ओखरका बोट समेत समेटिएका छन् । पछाईका नाममा ऋण नरहेको विवरणमा उल्लेख छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ मा उनका बुवाका नाममा रहेका दुई पुर्ख्यौली घर विवरणमा समेटिएका छन् । यसबाहेक जुम्लाका विभिन्न २८ ठाउँ र बर्दियाको राजापुर नगरपालिका–२ का तीन ठाउँको जग्गा समेत सम्पत्ति विवरणमा उल्लेख छ ।

जितबहादुर मल्ल : श्रीमतीका नाममा ६३ लाख ऋण
सामाजिक विकासमन्त्री मल्लको सम्पत्ति विवरणमा घरजग्गा र पारिवारिक ऋण उल्लेख्य रूपमा देखिएको छ । उनको आफ्नै नाममा बाँकेको कोहलपुर नगरपालिका–७ मा ३७४.२५ वर्गमिटर क्षेत्रफलमा बनेको ३० लाख रुपैयाँ मूल्यको घर छ ।

उनकी श्रीमती राधिका मल्लका नाममा मुगुको छायाँनाथ रारा नगरपालिका–२ मा ५० लाख रुपैयाँ मूल्यको घर रहेको विवरणमा उल्लेख छ ।

यस्तै, छायाँनाथ रारा नगरपालिका–१ मा श्रीमतीकै नाममा पाँच लाख र १५ लाख रुपैयाँ खरिद मूल्यका थप दुई घर छन् । यसरी मल्ल परिवारका नाममा चार घर रहेको देखिन्छ ।

घरबाहेक श्रीमती मल्लका नाममा छायाँनाथ रारा नगरपालिकाका विभिन्न १० ठाउँमा गरी ९७ लाख रुपैयाँ खरिद मूल्यको जग्गा रहेको विवरणमा उल्लेख छ । मल्लको बैंक खातामा तीन लाख रुपैयाँ मौज्दात छ ।

उनको विवरणमा सुनचाँदी, मोबाइल, ल्यापटप र ट्याबलेट समेत उल्लेख छन् । मोबाइल, ल्यापटप र ट्याबलेट वैदेशिक रोजगारीमा रहेका व्यक्तिबाट उपहारस्वरूप प्राप्त भएको विवरणमा जनाइएको छ ।

श्रीमती मल्लका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ६३ लाख रुपैयाँ ऋण छ । तर, उक्त ऋण के प्रयोजनका निम्ति लिइएको हो, साँवा तथा ब्याजको अवस्था के छ र ऋणबाट कुन सम्पत्ति खरिद वा कहाँ खर्च गरिएको भन्ने विवरण खुलाइएको छैन ।

कलबहादुर हमाल : आठ लाख ऋण
जलस्रोत तथा ऊर्जा विकासमन्त्री हमालको सम्पत्ति विवरणमा पुर्ख्यौली घरजग्गा, कृषि उपज, परम्परागत सामग्री र ऋण उल्लेख छन् । उनका नाममा हुम्लाको अदानचुली गाउँपालिका–५ मा पुर्ख्यौली घर छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा पाँच लाख रुपैयाँमा खरिद गरिएको जग्गा र ९६ वर्गमिटर क्षेत्रफलको अर्को जग्गा समेत विवरणमा उल्लेख छ । तीमध्ये अर्को जग्गा छोरीज्वाइँको बैंक प्रयोजनका निम्ति रोक्का राखिएको जनाइएको छ ।

हुम्लाको अदानचुली र ताँजाकोट क्षेत्रमा २५ कित्ताभन्दा बढी पुर्ख्यौली तथा पैतृक जग्गा रहेको उनको विवरणमा उल्लेख छ । ती जग्गाको अंशबन्डा हुन बाँकी रहेको पनि जनाइएको छ ।

उनका नाममा दुई तोला सुन र पैतृक ४० तोला चाँदी छ । चार बैंकमा गरी दुई लाख ७० हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ ।

उनको सम्पत्ति विवरणमा धान, कोदो, गहुँ, मकै, सिमी र कागुनोजस्ता कृषि उपजका साथै राडीपाखी, गलैचा तथा तामा, पित्तल र काँसका भाँडाकुँडा समेत समेटिएका छन् ।

हमालले विभिन्न व्यक्तिबाट वैदेशिक रोजगारी तथा अध्ययनका निम्ति लिएको आठ लाख रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको विवरणमा उल्लेख गरेका छन् ।

जुम्कित लामा : जग्गा, सुनचाँदी र बीमाबापतको रकम
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लामाको सम्पत्ति विवरणमा घरजग्गा, सुनचाँदी र दुर्घटना बिमाबापत प्राप्त रकम उल्लेख छन् । उनको पैतृक घर हुम्लाको सर्केगाड गाउँपालिका–२ मा छ ।

लामाको आफ्नै नाममा हुम्लाको सिमकोट गाउँपालिका–६ मा १७.२५ वर्गमिटर क्षेत्रफलको २५ लाख रुपैयाँ मूल्यको जग्गा छ । यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा ३० लाख रुपैयाँ मूल्यको जग्गा रहेको विवरणमा उल्लेख छ । उनको ससुराका नाममा सर्केगाडमा ५० रोपनी पैतृक खेतबारी रहेको पनि विवरणमा उल्लेख गरिएको छ  ।

लामाका नाममा १० तोला सुन, ११० तोला चाँदी तथा तुषो, मुगा र मोतीका २५ तोला माला रहेको उल्लेख छ । उनीसँग दुई लाख रुपैयाँ नगद मौज्दात छ । यस्तै, सिटिजन्स बैंकमा २० हजार र एनएमबी बैंकमा ११ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

उनका नाममा सांग्रिला विकास बैंकमा १५ लाख रुपैयाँ छ । उक्त रकम श्रीमान्को दुर्घटना मृत्यु दाबी बिमाबाट प्राप्त भएको विवरणमा जनाइएको छ ।

उनका छोरा चन्दसिंह कार्कीका नाममा सिटिजन्स बैंकमा ४२ लाख रुपैयाँ रहेको उल्लेख छ । उक्त रकम बुवा चन्दसिंह कार्कीको दुर्घटना बिमा दाबीबाट प्राप्त भएको विवरणमा जनाइएको छ । छोराकै नाममा तीन लाख रुपैयाँ मूल्यको मोटरसाइकल समेत छ ।

यसरी लामाको विवरणमा आफ्नै नाममा रहेको सम्पत्तिसँगै श्रीमान्को दुर्घटना मृत्यु दाबीबाट प्राप्त र छोराको नाममा रहेको बिमाबापतको रकम तथा मोटरसाइकल समेत समेटिएका छन् ।

मिलन खड्का रोका : बैंकमा ९० हजार, आफन्तबाट लिएको १२ लाख ऋण
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकाको बैंक खातामा ९० हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ । उनका नाममा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ मा गाउँतर्फ ११ कित्ता पुर्ख्यौली जग्गा छ । गाउँमा मोती रोकाका नाममा रहेको कच्ची पुर्ख्यौली घर समेत विवरणमा समेटिएको छ ।

मिलनसँग माइतीमा रहँदा कमाएको दुई तोला सुन रहेको उल्लेख छ । परिवार सगोलमा विभिन्न कम्पनी तथा संस्थामा तीन लाख रुपैयाँबराबरको सेयर रहेको विवरणमा जनाइएको छ । यस्तै, एक गाई, पाँच बाख्रा र एउटा साधारण मोबाइल समेत उनको सम्पत्ति विवरणमा उल्लेख छन् ।

उनले आफन्तबाट लिएको १२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको विवरणमा उल्लेख गरेकी छन् ।

कल्याणी खड्का : आफ्नै नाममा घर छैन, बैंकमा नौ लाख ४६ हजार
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री खड्काले आफ्नो नाममा घर नभएको सम्पत्ति विवरण बुझाएकी छन् । उनी अविवाहित रहेको र बुवाआमाको घर भूकम्पका कारण क्षतिग्रस्त भएको विवरणमा उल्लेख छ ।

खड्काले गाउँमा अंशबन्डाबाट चार कित्ता जग्गा प्राप्त गरेको जनाएकी छन् । यस्तै, दाङमा १२० वर्गमिटर क्षेत्रफलको तीन लाख ६० हजार रुपैयाँ मूल्यबराबरको घडेरी समेत अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख छ । उनीसँग सुनचाँदी नभएको जनाइएको छ ।

बैंक मौज्दाततर्फ बुवाबाट प्राप्त पाँच लाख रुपैयाँ तथा तलब, भत्ता र जग्गा बिक्रीबाट जम्मा भएको चार लाख ४६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । यसानुसार उनका नाममा बैंक मौज्दात नौ लाख ४६ हजार रुपैयाँ देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । काठमाडौँको बूढानीलकण्ठबाट जुवा खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् ।  बूढानीलकण्ठ नगरपालिका–११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको

काठमाडौँ, २९ असोज । जाजरकोटको जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

काठमाडौँ, २९ असोज । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी

काठमाडौँ, २९ असोज । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।