एजेन्सी, २८ असोज । अफगानिस्तानको तालिवान सरकारले देशभर बीबीसीको एफएम रेडियो प्रसारण निलम्बन गरेको छ ।
बेलायती प्रसारक बीबीसीले मंगलबार यसको पुष्टि गर्दै समस्या समाधानका लागि सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको छ ।
बीबीसीका प्रवक्ताले विज्ञप्तिमार्फत अफगानिस्तानभरका लाखौँ मानिस निष्पक्ष र विश्वसनीय समाचार तथा सूचनाका लागि बीबीसीमा निर्भर रहेको उल्लेख गर्दै प्रसारण पुनः सञ्चालनका लागि अधिकारीहरूसँग काम गरिरहेको बताएका छन् ।
तालिवान सरकारको सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ता खुबैब गुफरानले भने बीबीसीले पटक–पटक नियम उल्लंघन गरेकाले उसका गतिविधि हालका लागि निलम्बन गरिएको बताएका छन् । यद्यपि, कस्ता नियम उल्लंघन भएका थिए भन्नेबारे मन्त्रालयले विस्तृत जानकारी दिएको छैन । रोयटर्स








