काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गोलबजार नगरपालिका–२ को आयोजनामा तथा नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालित शिविरबाट १९० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
जनताको पैसा जनताकै हकहित र सेवामा खर्च गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, फिजियोथेरापी र जनरल मेडिसिनलगायतका सेवा प्रदान गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श दिनुका साथै बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।







