काठमाडौँ, २४ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो । महानगर प्रहरी बल नयाँबसपार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागमार्फत चाडपर्वमा घर जाने यात्रुलक्षित गरी निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको जानकारी दिए ।
महानगरले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको उनको भनाइ छ । उक्त सेवा दसैँभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ । नयाँ बसपार्कमा हुने भीडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । प्रहरीले भीडभाड नियन्त्रणका साथै यात्रुलाई सहजै रूपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ ।






