काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमा आफू र पूर्वपतिको नाम जोडेर टिप्पणी हुन थालेपछि चौहानले फेसबुकमार्फत आफ्नो वर्तमानलाई विगतका सम्बन्धबाट परिभाषित नगरिदिन आग्रह गरेकी हुन् ।
चौहानले लेखेकी छन्, ‘मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्’ उनले लेखेकी छन्, ‘कहिलेकाहीँ त मैले कल्पनासम्म पनि नगरेका कुराहरू समाचारमा देख्छु ।’ ‘मैले मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु । तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ,’ ‘विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन । कृपया त्यो अध्याय बन्द गरिदिनुस्’ ।
आफ्नो पहिचान स्थापित गर्न अरू कसैको नाम आवश्यक नरहेको पनि उनको भनाइ छ । ‘यो कुरा म कुनै घमण्डले होइन, आत्मविश्वासका साथ भन्छु, मलाई आफ्नो पहिचान बनाउन कसैको नामको सहारा चाहिँदैन,’ उनले लेखेकी छन् । ‘यस्ता भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु’ चौहानले भनेकी छन् ।
आफू विगतलाई पछाडि छाडेर धेरै अगाडि बढिसकेको उल्लेख गर्दै चौहानले पुराना तस्बिर र सम्बन्धलाई बारम्बार समाचारमा जोड्दा पुराना घाउ पुनः बल्झिने बताएकी छन् ।







