शिक्षाको उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु, प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन: राष्ट्रपति

काठमाडौँ, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनुभएको छ । उहाँले सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

“शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन । शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो । त्यही भएर शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएकाले हामीले दिने शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्दछ भन्नुभयो । समय परिवर्तनशील भएको तर परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन चाहिँ आवश्यक रहेको उहाँको भनाइ थियो ।

“सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर पनि हाम्रो शैक्षिक प्रणालीमै खोजिनुपर्छ । त्यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व भएको बताउनुभयो । “साथसाथै, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने गरी स्वदेशमै उत्पादन र रोजगारीको अवस्था सिर्जना गरी हरेक नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने शिक्षा प्रदानमा विशेष ध्यान दिनुपर्छ भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको