काठमाडौँ, १७ असोज । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ ।
ओटीटी प्लाटफर्म पिककले बिहीबार यो फ्रेन्चाइजमा आधारित नयाँ सिरिज निर्माणका लागि औपचारिक रूपमा ग्रिनलाइट दिएको घोषणा गरेको हो ।
यस वर्षको सुरुमा एनबीसीयुनिभर्सलको ‘अपफ्रन्ट्स’ कार्यक्रममा यो सिरिज विकासको चरणमा रहेको पहिलोपटक सार्वजनिक गरिएको थियो । मेमा आयोजित उक्त कार्यक्रममा अभिनेता विन डिजेलले ‘फास्ट एन्ड फ्युरियस’को स्क्रिप्टेड सिरिज निर्माण भइरहेको बताएका थिए ।
डिजेल सिरिजका कार्यकारी निर्मातासमेत रहनेछन् । उनीसँगै वान रेसका साम भिन्सेन्ट, ओरिजिनल फिल्मका निल एच. मोरिट्ज र पवन शेट्टी तथा जेफ किर्सेनबाउम र क्रिस मोर्गन प्रोडक्सन्सका क्रिस मोर्गन कार्यकारी निर्माताका रूपमा रहनेछन् ।







