काठमाडौँ, १६ असोज । आज सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ ।
आज ०.४५ प्रतिशतले बजार घटेको हो । आज कारोबार रकम भने ४ अर्ब नाघेको छ । कुल ३ सय ५६ धितोपत्रको ४३ हजार ६ सय ८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको छ ।
यी किनबेचबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ । आज म्युचअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको मूल्य घट्यो । जसले गर्दा समग्र सेयर बजार घटेको हो । आज सबैभन्दा धेरै (०.७३ प्रतिशत) उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।
शुक्रबार एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ । एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशत बढ्यो । यसबाहेक मान्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, एनआईबीएल ग्रोथ फन्डजस्ता धितोपत्रको मूल्य धेरै बढेको छ ।
आज सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यसको मूल्य ८.५५ प्रतिशत घट्यो । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशत घटेको छ ।







