काठमाडौँ, १६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र साहले संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकले भोग्नुपरेको जलवायु सङ्कटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाएको बताएका छन् ।
आज प्रतिनिधि सभामा प्रधानमन्त्री साहको संयुक्त राज्य अमेरिका भ्रमण र राष्ट्र सङ्घीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्दै परराष्ट्रमन्त्री खनालले सो जानकारी दिएका हुन् ।
उनका अनुसार असोज ६ देखि १० गतेसम्म न्युयोर्कमा आयोजित महासभाका विभिन्न उच्चस्तरीय सत्र र द्विपक्षीय बैठकहरूमा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री साहले भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गरेका थिए।
नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर मार खेपिरहेको तथ्य उनले उजागर गरेका थिए। विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढेको हिमपहिरो, बाढी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्वसूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा प्रधानमन्त्री साहले जोड दिएका थिए।
मन्त्री खनालले संसद्लाई दिएको जानकारी अनुसार महासभाका क्रममा प्रधानमन्त्री साह र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्प्रति गहिरो समवेदना प्रकट गर्दै जलवायु मुद्दामा नेपाललाई पूर्ण ऐक्यबद्धता जनाएका थिए। यसका साथै अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्ने विषयमा पनि छलफल भएको थियो।







