काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को समुद्घाटन गर्दै सभामुख अर्यालले सीप आजको समयमा अतिरिक्त योग्यता नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार भएको बताए ।
संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यसलाई व्यवहारमा अनुभूति हुने गरी अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै उनले यसलाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए।
बजारको मागअनुसारको सीप, सीपअनुसारको रोजगारी र रोजगारीसँग जोडिएको उत्पादनलाई श्रम तथा रोजगार नीतिको महत्त्वपूर्ण दिशा बनाउनुपर्ने उनको भनाइ छ।
सभामुख अर्यालले आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोशी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन भएको स्मरण गरे।







