एजेन्सी, १२ असोज । सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिएका छन् ।
उनले अक्टोबर २५ मा हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) को नेतृत्व गर्न पद छाडेकाे बताएका छन् ।
वुसिकको दोस्रो राष्ट्रपतीय कार्यकाल अर्को वर्ष मेमा सकिँदै थियो । संविधानले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन रोक लगाएको छ । सन् २०१२ देखि सत्तामा रहेको एसएनएसले विद्यार्थी नेतृत्वको विरोध आन्दोलनबिच आगामी निर्वाचनमा चुनौती सामना गरिरहेको छ ।
नोभी सादमा सन् २०२४ नोभेम्बर १ मा रेल स्टेसनको छाना भत्किँदा १६ जनाको मृत्यु भएपछि विद्यार्थीले न्याय र घटनाको जिम्मेवारी निर्धारणको माग गर्दै विरोध सुरु गरेका थिए । पछि उक्त आन्दोलन भ्रष्टाचार अन्त्य र कानूनको शासनका लागि व्यापक अभियानमा परिणत भएको हो ।







