नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता : सभापति थापा

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र राहतमा जुट्न आह्वान गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले देशभर भइरहेको अविरल वर्षा र त्यसले निम्त्याएको प्रतिकूल परिस्थितिमा तत्कालका लागि अधिवेशन भन्दा राहत र उद्धार पहिलो प्राथमिकता भएको बताएका छन् । 

उनले लेखेका छन्, ‘देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको छ।’ ‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो। भौतिक र साङ्गठनिक प्रक्रियाभन्दा नागरिकको जीवनको सुरक्षा ठुलो कुरा हो, त्यसैले जोखिम रहेका स्थानमा निर्वाचनका गतिविधिहरू रोकेर नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्छ।’

सभापति थापाले कांग्रेसका सम्पूर्ण तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि र क्रियाशील सदस्यहरूलाई विपद्मा परेका नागरिकको सेवाका लागि खटिन निर्देशन दिएका छन् । ‘आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई विशेष आग्रह गर्दछु,’ थापाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको