काठमाडौँ, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका छन् ।
आज भक्तपुर नागरिक समाजले विश्व पर्यटन दिवसको अवसरमा नेपाल प्रेस सोसाइटीमा आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले विपन्न तथा बाढी प्रभावितको आवास निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए ।
उनले भने, ‘बागमतीको बजेट बनिसकेको छ। उक्त बजेटबाट अन्य खर्च नहुने कार्यक्रम र केही विकासका बजेट कटौती गरेर जहाँ प्रभावित क्षेत्र छ, जहाँ पुनर्निर्माण र पुनर्स्थापना गर्नुपर्नेछ, त्यहाँ तत्कालै बजेट लगेर पुनर्निर्माण गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराइसकेको छु, ।
त्यस्तै उनले आर्थिक मामिला मन्त्रीको संयोजकत्वमा विभिन्न मन्त्रालयका चालु आर्थिक वर्षमा सञ्चालन नगर्दा पनि हुने कार्यक्रम पहिचान गरी बजेट कटौती गर्ने प्रक्रिया अघि बढाइएको छ । प्रत्येक मन्त्रालयबाट करिब १० प्रतिशतसम्म बजेट कटौती गर्न सकिए करिब पाँच अर्ब रुपैयाँ बचत हुने र उक्त रकम बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणमा खर्च गरिने उनले बताए ।







