काठमाडौँ, ११ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
आज उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् ।
उनले राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित नरहेको अवस्था देखिनु र कानुनी प्रक्रियासमेत मिचिने हो भने सर्वसाधारण नागरिकको सुरक्षाको अवस्था झन् गम्भीर बन्ने प्रश्न उठाएका छन् ।
उनले लेखेका छन्, ‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो । आज राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र कानुनी प्रक्रिया यसरी मिचिन्छ भने भोलि सर्वसाधारणको अवस्था के होला ?,’ ।
साहले यस्तो कार्यलाई आफूले गैरकानुनी र स्वेच्छाचारी कार्यका रूपमा लिएको उल्लेख गर्दै त्यसको विरोध गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई कानुनी शासनको पक्षमा आवाज बुलन्द गर्नसमेत आह्वान गरेका छन् ।







