काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको विकल्पमा प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व र प्रतिनिधि छनोट गर्नुपर्ने आवाज उठाएका छन् ।
यही क्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नेविसंघ सभापति तथा २५ वर्षीय युवा नेता प्रशान्त खड्काले ३५ वर्षमुनिको कोटाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसको संशोधित विधानले ३५ वर्षमुनिका युवाको महाधिवेशन प्रतिनिधित्व सुनिश्चित गरेको छ।
खड्काले युवालाई सभा, जुलुस र भीड व्यवस्थापनमा मात्रै सीमित नराखी पार्टीको निर्णय तहमा समेत अवसर दिनुपर्ने धारणा राखेका छन् । उनका अनुसार सर्वसम्मतिको नाममा नेताको निकटता, पहुँच वा कृपाका आधारमा प्रतिनिधि छनोट हुनेभन्दा निर्वाचनमार्फत योगदान, क्षमता र सक्रियताको परीक्षण हुनु आवश्यक छ । उनले भनेका छन् `चुनाव लाेकतन्त्रकाे मेरूदणेड हाे । युवा सहभागिता लाेकत्त्रकाे भविष्य हाे ।´
‘कांग्रेस दास र लासको पार्टी होइन, विचार, संघर्ष र लोकतान्त्रिक प्रतिस्पर्धाबाट चल्ने पार्टी हो’ भन्ने सन्देशसहित युवाहरू चुनावी मैदानमा उत्रिन खोज्नुले काठमाडौँ–३ को क्षेत्रीय अधिवेशनलाई थप रोचक बनाएको छ ।
प्रशान्त खड्काको उम्मेदवारीले काठमाडौँ–३ मा मात्रै नभई कांग्रेसका नै पुस्तान्तरण, युवा सहभागिता र आन्तरिक लोकतन्त्रको बहसलाई थप अगाडि ल्याउने देखिएको छ।







