काठमाडौँ, ८ असोज । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ ।
दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न भनी नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युराे भोटाहिटीको नाममा परमादेश जारी गरेको हो ।
यसअघि अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारण सहित लिखित जवाफ पेस गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो । साथै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन भनेको थियो । आदेश प्राप्त भएपछि दाहाललाई आज अदालतमा उपस्थित गराइएको थियो ।






