एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकी अधिकारीहरूले इरानी प्रतिनिधिमण्डलसँग तीन घण्टासम्म निकै राम्रो बैठक गरेको बताए ।
ट्रम्पका अनुसार, अमेरिकी विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नर मंगलबार भएको बैठकमा सहभागी थिए । “उनीहरूबीच निकै राम्रो र निकै फलदायी बैठक भयो,” ट्रम्पले भने ।
विटकफले पनि ट्रम्पसँगै पत्रकारहरूसँग कुरा गर्दै बैठक निकै राम्रो भएको बताए । तर, थप विवरण दिएनन् । ट्रम्पले निकट भविष्यमा अर्को बैठक तय भएको जानकारी दिए ।
दोस्रो चरणको वार्ता कहाँ हुने भन्ने प्रश्नमा ह्वाइट हाउसले अल जजिरालाई राष्ट्रपतिको भनाइतर्फ निर्देशित गरेको थियो ।
इरानसँग के विषयमा छलफल भयो भन्नेबारे ट्रम्पले विस्तृत विवरण नदिए पनि उनले इरानले सम्भावित महानता वा विनाशमध्ये एक विकल्प रोज्नुपर्ने अवस्थामा रहेको बताएका छन् । यो अभिव्यक्ति उनले त्यही दिन संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनसँग मेल खान्छ । ट्रम्पले सम्झौता नभए इरानविरुद्ध अझ कडा कदम चाल्ने चेतावनी दिएका थिए ।
महासभामा सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता हुने वा इस्लामिक गणतन्त्रलाई द्रुत रूपमा नष्ट गर्ने भन्ने दुई विकल्प रहेको बताएका थिए । उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने आफ्नो अडानसमेत दोहोर्याएका थिए ।
ट्रम्पले आफ्नो सम्बोधनका क्रममा नोभेम्बरमा हुने अमेरिकी संसदीय निर्वाचनपछि सम्झौता हुन सक्ने संकेत गरेका थिए । उनले डेमोक्रयाटिक पार्टीविरुद्ध आफ्नो रिपब्लिकन पार्टीको प्रदर्शन कस्तो रहन्छ भनेर हेर्न इरान पर्खिरहेको दाबी गरेका थिए ।
“उनीहरूले नबुझेको कुरा के हो भने म चुनावमा उठेको छैन । मैले त्यो काम पहिले नै गरिसकेँ र भारी बहुमतले जितेँ,” ट्रम्पले भने, “र म यहाँ अझै साढे दुई वर्ष रहनेछु ।”
“इरानको कुरा आउँदा मैले चुनावलाई कुनै महत्त्व दिएको छैन र दिने पनि छैन । यो मेरो दिमागमा आउने विषयसमेत होइन । एउटै कुरा के हो भने इरानसँग कहिल्यै आणविक हतियार हुनेछैन,” उनले भने ।
मध्यस्थकर्तामार्फत इरानसँग ‘लामो’ वार्ता
अमेरिकी विशेष दूत स्टिभ विटकफले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानी प्रतिनिधिमण्डलसँग लामो वार्ता भएको पुष्टि गरेका छन् । उनका अनुसार, वार्ता प्रत्यक्ष रूपमा नभई मध्यस्थकर्तामार्फत भएको थियो । मध्यस्थकर्ताहरू दिनभर दुवै पक्षबीच आउजाउ गर्दै वार्ता अघि बढाएका थिए ।
विटकफले सामाजिक सञ्जाल एक्समा लेख्दै छलफलको यो चरण सफलतापूर्वक सम्पन्न भएको र मध्यस्थकर्ताहरूले आफ्नो काम जारी राख्ने बताएका छन् । उनले वार्ताबाट रचनात्मक र आशाजनक नतिजा आउने आशा व्यक्त गरेका छन् ।






