काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् ।
आज बिहान भएको टेलिफोन वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानका विषयमा छलफल भएको छ ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएको बालेनको सचिवालयले जनाएको छ । उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा नेपाल सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारेका छन् ।
शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताए ।
इब्राहिमसँग भने, ‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकलाई मारमा पारेको छ,’ शाहले ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।’
प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको बताएको सचिवालयको भनाइ छ । उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको बताइएको छ ।






