काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई थाहा छ भनेर प्रश्न गरेकी छन् ।
आज प्रतिनिधि सभाको बैठकमा सांसद बरालले बिदा व्यवस्थापनका कारण विशेष गरी महिला कर्मचारीले भोग्नुपरेको सास्तीबारे जानकारी छ की छैन भनेर सरकारलाई प्रश्न गरेकी हुन् ।
सांसद बरालले सरकारले घोषणा गरेको दुई दिनको बिदाले आम जनजीवन र विशेष गरी कार्यक्षेत्रमा खटिने महिला कर्मचारीहरूलाई निकै असहज बनाएको बताए । उनले भनिन्, ‘सरकारले हचुवाका भरमा दिने बिदाले कति सास्ती भएको छ, के सरकारलाई थाहा छ ? सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’
सांसद बरालले विशेष गरी घर–व्यवहार र कार्यालय दुवै सम्हाल्नुपर्ने महिला कर्मचारीहरूको समस्यालाई उजागर गर्दै भनिन्, ‘महिलाहरूले बिहान छोराछोरीलाई विद्यालय वा अन्यत्र व्यवस्थापन गरेर समयमै कार्यालय पुग्न कति सास्ती बेहोर्नुपरेको छ ? यस्तो बिदाको निर्णय गर्दा के महिला कर्मचारीको दैनिक जीवन र उनीहरूको कार्य दक्षतामा पर्ने असरबारे सरकारले कहिल्यै सोचेको छ ?’






