काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध अपमानजनक, आधारहीन तथा भ्रामक सामग्री फैलाएर सामाजिक सद्भाव र शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सिरहाको लहान नगरपालिका–२४ का महतोलाई साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्ने कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता, राष्ट्रसेवक कर्मचारीलगायत व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने मनसायले बिना प्रमाण, आधारहीन, तथ्यहीन तथा धम्कीपूर्ण सामग्रीहरू पोस्ट गरी सामाजिक सद्भाव र शान्तिमा खलल पार्ने कार्य गरेको आरोप महतोमाथि छ।






