काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् ।
आज गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले असोज १६ गतेबाट सुरु हुने महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन हुने स्पष्ट पारेका हुन् ।
उनले भने,‘संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ । त्यसैले महाधिवेशन एक घण्टा पनि सर्दैन, घोषित मितिमै हुन्छ।’
उनले महाधिवेशनमा पार्टीका सबै नेताहरूको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे । पार्टीभित्र देखिएको केही अन्योललाई पूर्णविराम लगाउँदै उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई तोकिएकै समयमा महाधिवेशन हुने कुरामा विश्वस्त रहन आग्रह गरे ।
सभापति थापाले महाधिवेशन सम्पन्न भएसँगै कांग्रेसको नेतृत्वले जनतासँगको टुटेको विश्वास पुनः जोड्ने अभियान थाल्ने बताए। थापाले भने, ‘नेतृत्वमा जो आए पनि पार्टीलाई एकताबद्ध बनाएर ७७ वटै जिल्लामा पुग्नेछौँ,’ ‘नागरिकसँगको विश्वास टुटेको छ, त्यसलाई जोड्न हामी देश दौडाहामा निस्किन्छौँ।’






