एजेन्सी, २५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई महिनापछि इरानसँगको युद्ध अन्त्य हुने बताएका छन् ।
अमेरिकामा आगामी नोभेम्बरमा हुने ‘मिडटर्म’ चुनावपछि युद्ध अन्त्य हुने उनले बताएका हुन् । ”इरान युद्ध हाम्रो चुनाव लगत्तै अन्त्य हुन्छ,” ट्रम्पले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन् ।
इरानलाई जसरी पनि आणविक हतियार चाहिएकाले वार्ता निष्कर्षमा पुग्न नसकेको उनले बताए । अबको वार्तामा यसअघिका भन्दा पृथक प्रस्तावहरू लिएर अमेरिका वार्ता टेबुलमा बस्ने उनको भनाइ छ । ”हामीसँग आणविक हतियार व्यवस्थापनमा विभिन्न विकल्प सहितको प्रस्ताव हुनेछ । यसअघिका वार्तामा ती प्रस्तावहरू थिएनन्,” ट्रम्पको भनाइ उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।
इरानी सरकारसँग अब जनताको साथ नरहेको भन्दै उनले अमेरिकी चुनावपछि युद्ध अन्त्य हुने जिकिर गरे । ”इरानले जनसमर्थन गुमाउँदै गएको छ । त्यसैले अब अमेरिकी चुनाव लगत्तै त्यहाँ युद्ध अन्त्य हुन्छ,” उनले दोहोर्याए ।
इरानसँग वार्ताका लागि अमेरिकाले तदारुकता भने नदेखाउने उनको भनाइ छ ।






