सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन : सुशीला कार्की

काठमाडौँ, २३ भदौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा एक सन्देश दिँदै सुशासनमा जोड दिएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत दुई तिहाइले पनि सुशासन नभए स्थिरता दिन नसक्ने बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, आज भदौ २३ । एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको थियो । नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यो आवाज दबाउने नाममा निर्दोष नवयुवाहरूको ज्यान लिइएको थियो । कयौँ युवाहरूले जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपर्‍यो ।
उक्त घटनामा सहिद भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । हाम्रा कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन । सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ ।
जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ- सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु ।
जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै हामी अहिले भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेका छौँ । यस दुःखद घडीमा हामी अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुनुपर्छ । एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ । 

धन्यवाद।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ भदौ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक भोलीका लागि बोलाइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला

काठमाडौँ, २३ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र

काठमाडौँ, २३ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन हुनुभएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको

काठमाडौँ, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवम् प्राकृतिक विपत्तिमा