काठमाडौँ, १९ भदौ । आजबाट देशभरका हलमा फिल्म ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ प्रदर्शनमा आएको छ ।
फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि, देशभरका फिल्म हल यसले मात्र पाएको भने छैन । अघिल्ला साताहरूमा प्रदर्शनमा आएको ‘पार्वती’, ‘गौँथली’ लगायत फिल्मले केही स्टेसन ओगटेका छन् ।
‘एलिफेन्ट्स इन द फग’ कान्स लगायत विश्वका ठुला इन्टरनेसनल फिल्म फेस्टिभलको फन्को लगाएको फिल्म हो । फिल्मले थुप्रै अन्तराष्ट्रिय अवार्ड समेत जितेको छ ।
अविनाश विक्रम शाहले निर्देशन गरेको फिल्म जङ्गली हात्तीको आतङ्कबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायको कथामा बनेको हो । फिल्ममा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकाङ्क्षा कार्की लगायतको अभिनय छ ।
फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो । यस फिल्मका निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।






