काठमाडौँ, १८ भदौ । जापान सरकारले भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ ।
नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे । सहायता सामग्रीमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने प्याड, पाललगायत रहेको यहाँस्थित जापानी दूतावासले जनाएको छ ।
जापान सरकारले आपत्कालीन राहत सामग्रीले विपद्बाट प्रभावित नागरिकले भोगिरहेको कठिनाइ कम गर्न सहयोग पुग्ने विश्वास गरेको छ । प्रभावित क्षेत्रमा पुनः स्थापना तथा पुनर्निर्माणका प्रयास निरन्तर रूपमा अघि बढ्दै जाने र पीडित यथाशीघ्र आफ्नो सामान्य तथा शान्तिपूर्ण जीवनमा फर्कन सक्ने जापान सरकारको अपेक्षा छ ।





