काठमाडौँ, १७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सम्पर्कविहीन कर्मचारी तथा नागरिकको खोजी र उद्धारका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरे पनि अपेक्षित सफलता हासिल हुन नसक्दा पीडित परिवारको चिन्ता र पीडा थपिएको बताउनुभएको छ ।
सोमबार साँझ रसुवागढी जलविद्युत् आयोजनाका सम्पर्कविहीन कर्मचारीका परिवारजनहरूसँगको भेटमा मन्त्री श्रेष्ठले सरकार सबै नागरिकको अभिभावक भएकाले बिना भेदभाव खोजी तथा उद्धारमा जुटिरहेको बताउनुभयो ।
उहाँले रसुवागढीको भौगोलिक जटिलता र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा चुनौती देखिएको उल्लेख गर्दै खोजी तथा उद्दार अभियान भने नरोकिएको स्पष्ट पार्नुभयो । हवाई तथा स्थलमार्गबाट सुरक्षाकर्मी परिचालन गरी आसपासका ठाउमा खोजी गर्नुका साथै सुरुङ र विद्युत गृहमा उपलब्ध उच्चतम प्रविधि र विज्ञको सहयोगमा खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले आफ्ना प्रियजनको खबर नपाउँदाको पीडा परिवारका लागि जति गहिरो छ, त्यति नै आफ्ना दक्ष जनशक्ति तथा सहकर्मीको चिन्ता सरकारलाई पनि रहेको बताउनुभयो ।
भेटका क्रममा उहाँले रसुवागढी हाइड्रोपावर कम्पनीका सञ्चालकलाई खोजी तथा उद्धारको प्रगतिबारे पीडित परिवारलाई नियमित, वस्तुनिष्ठ र समयमै सूचना उपलब्ध गराउन निर्देशनसमेत दिनुभयो । सूचना र समन्वयमा हुने पनि कमीले परिवारको पीडा थप बढाउने भन्दै त्यसतर्फ विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै, सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले विपद्को समयमा नागरिकको खोजी तथा उद्धार गर्नु सरकारको दायित्व भएकाले आफ्नो कर्तव्यप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कम्पनीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक राजन ढकालले हालसम्म खोजी तथा उद्धारका क्रममा भएका प्रयासबारे पीडित परिवारलाई जानकारी गराउनुभएको थियो ।






