काठमाडौँ, १७ भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।
बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ ।
बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ ।





