नुवाकोट, १४ भदौ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन् ।
नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा उनले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मुल मुद्दा रहेको बताए ।
उनले भने, “राहत सामग्री वितरणलाई न्यायोचित ढङ्गले वास्तविक पीडितसम्म पुर्याउने काममा तीनै तहको सरकारले समन्वय गर्न जरुरी छ । शव व्यवस्थापन राजनीतिक दलहरूको सर्वस्वीकार्य सहमतिमा गरिन्छ । राज्यले स्रोतको कुनै कमी हुन दिँदैन । आजसम्म जुन स्तरमा काम भइरहेको छ, राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएकाले मात्र यति सम्भव भएको हो ।”
अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख दुई/तीन वटा स्थानमा तुरुन्तै बेलिब्रिज राखिनेसमेत बताए । उनले तीनै तहको सरकारले स्वतःस्फूर्त रुपमा काम गरिरहेको बताउनुभयो । हिजोसम्म उद्धारलाई प्राथमिकता दिएकामा आजदेखि शव सङ्कलनमा जोड दिएको उनले जानकारी दिए । उनले हाल सरकारसँग सात वटा बेलिब्रिज रहेकाले सम्भाव्यता हेरेर छिटोभन्दा छिटो कहाँकहाँ जोड्न सकिन्छ त्यहाँ राख्ने पहल भइरहेको बताउनुभयो ।






