काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा हङ्गामा भएको छ ।
बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले विगतमा ३५ वर्ष शासन गर्नेहरूकै कारण गत भदौमा जेनजी आन्दोलन भएको टिप्पणी गरिन् । आन्दोलनमा ज्यान गुमाएकाहरूको रगत अझै नसुकिसकेको अवस्थामा विपक्षी सांसदहरूले सरकारमाथि आरोप लगाइरहेको उनले बताइन् ।
सङ्ग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदहरू उठेर विरोध जनाएका थिए । सङ्ग्रौलाको आरोपपछि नेकपा (एमाले)की सांसद साजिदा सिद्दीकीले प्रतिवाद गर्दै वर्तमान सरकारले नै मुलुकमा गुण्डाराज चलाएको आरोप लगाइन् ।
सङ्ग्रौलाले विपक्षी सांसदलाई प्रश्न गर्दै भनिन्, ‘अस्ति भर्खर एक जना विद्वान् माननीयले तपाईँहरूले सक्नुभएन, अब हामी चलाउँछौँ भनेर भन्नुभयो । भदौको आन्दोलनबाट मारिएका परिवार सेतो कपडा लगाएर बरखी बारेर बसिरहेका छन् । कुन हिम्मतले हामी शासन चलाउँछौँ भनेर भनिरहनुभएको छ?’
प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा सत्तापक्षले गुण्डाराज भनेको भन्दै उनले आपत्ति जनाएकी छन् । देश र जनताको पक्षमा उभिँदा गोली खानुपरे पनि प्रतिपक्ष पछि नपर्ने बताउँदै सिद्दीकीले जेनजी आन्दोलनको कुरा गर्नेले सिरहामा सरकारले चलाएको गोलीबारे पनि जवाफ दिनुपर्ने माग गरिन् । सिद्दीकीको भनाइपछि सङ्ग्रौलाले पुनः प्रतिवाद गर्दै उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन् । दुवै पक्षका सांसदबिच भनाभन र आरोप-प्रत्यारोप भएपछि बैठकमा चर्को होहल्ला भएको थियो ।






