काठमाडौँ, २ भदौ । संघीय संसद्अन्तर्गत आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छ ।
बिहान ९ः३० बजे बस्ने बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री र सचिव तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल, राष्ट्रिय प्रकृति संरक्षण कोषका संयोजकलाई बोलाइएको छ ।
पूर्वाधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरूबारे छलफल हुनेछ । बैठक बिहान १० बजे बस्नेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकनलगायत विषय रहेको छ । बैठक बिहान साढे १० बजेलाई बोलाइएको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफल हुनेछ । छलफलमा डा. पासाङ शेर्पा, डा. प्रतिमा गूरुङ र शैलेन्द्र प्रसाद हरिजनलाई बोलाइएको छ ।
कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफल हुनेछ ।






