काठमाडौँ, २९ साउन । उज्यालो नेपाल पार्टी (उनेपा)ले सत्तारूढ पक्षका केही मन्त्री, सांसद तथा कार्यकर्ताबाट सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी र संवैधानिक निकायका पदाधिकारीप्रति व्यक्त हुँदै आएका अपमानजनक तथा धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
पार्टीका केन्द्रीय सचिव केदार खड्काले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय समितिमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिने, बेनामे उजुरीका आधारमा उच्च अधिकारीलाई सार्वजनिक रूपमा अपमानित गर्ने तथा अनुसन्धान र न्यायिक प्रक्रिया पूरा नहुँदै निष्कर्ष सुनाउने प्रवृत्ति अस्वीकार्य रहेको जनाएको हो ।
यस्ता गतिविधि विधिको शासन, संवैधानिक मर्यादा र राज्यका संस्थागत स्वतन्त्रताको सिद्धान्त विपरीत हुने पार्टीको ठहर छ । पार्टीले सुशासन राजनीतिक दबाब, धम्की वा सार्वजनिक प्रदर्शनबाट नभई विधिको शासन, प्रमाणमा आधारित अनुसन्धान र निष्पक्ष न्यायिक प्रक्रियाबाट स्थापित हुने स्पष्ट पारेको छ ।
राज्यका संस्थामाथि अनावश्यक राजनीतिक दबाब सिर्जना गर्ने र सार्वजनिक पदको मर्यादा कमजोर पार्ने गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै पार्टीले संस्थागत स्वतन्त्रता र विधिको शासनको सम्मान गर्न आह्वान गरेको छ।






