काठमाडौँ, १५ साउन । सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ ।
साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता भएका हुन् । दर्ता भएका विधेयकहरूमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा दर्ता गरिएका हुन् ।
सरकारले यसै आर्थिक वर्षभित्र १६६ वटा विधेयक संसद्मा पुर्याउने लक्ष्य राखेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले ९ विधेयक बिहीबार सचिवालयमा आएको, केही बिहीबार नै र केही शुक्रबार दर्ता भएको जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३, कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएका छन् । सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभामा दर्ता भएका छन् ।






