ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनको छलफल शृङ्खलाको पहिलो कार्यक्रममा सहभागी तीन दर्जनभन्दा बढी उद्योगीहरूसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

सरकारले निजी क्षेत्रको फैलावटका लागि सबैखाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी विस्तार, रोजगारी सिर्जना र देशमै केही हुन्छ भन्ने वातावरण सिर्जना गर्न उहाँले आग्रह गर्नुभयो। सरकारले लगानीको सुरक्षा गर्नेमा ढुक्क रहन पनि उहाँले उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

“तपाईँहरू ढुक्क भएर लगानी विस्तार गर्नुहोस्, रोजगारी सिर्जना गर्नुहोस्, राज्यले के-के गर्नुपर्ने हो हामीलाई निर्धक्क भएर भन्नुहोस्,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “कानुनी, व्यावहारिक सबै अप्ठ्यारोमा सरकार तपाईँहरूसँगै छ। तपाईँहरूको लगानीको सुरक्षाको जिम्मेवारी सरकारको भयो ।”

सरकारको २१ खर्ब २४ अर्बको बजेटले ६६ खर्बको अर्थतन्त्र चलायमान गराउनुपर्ने र त्यसको ड्राइभिङ सिटमा निजी क्षेत्र नै रहेको उहाँको भनाइ छ। बजेटमा निजी क्षेत्रलाई खुला भएर लगानी गरी अघि बढ्न यथेष्ट सुधारका प्रयास गरिएको भन्दै उहाँले उद्योगी-व्यवसायीहरूलाई थप केही नीतिगत अप्ठ्यारो फुकाउनुपर्ने भए स्पष्टसँग भन्न पनि आग्रह गर्नुभयो। “यो पाँच वर्षको स्पष्ट आर्थिक मार्गचित्रको पहिलो वर्ष हो। अहिले हामीले सुधारको सुरुआत मात्रै गरेका छौँ। आउने वर्ष अझै ठुला कामहरू गर्न बाँकी छ,” उहाँले भन्नुभयो, “निजी क्षेत्र हातेमालो गरेर अघि बढोस्, सरकार सधैँ साथमा छ।”

मङ्गलवार पाँच घण्टासम्म उहाँले उद्योगी-व्यवसायीहरूका समस्याहरू सुन्नुभएको थियो। सो क्रममा उठेका अन्तःशुल्क र भन्सार महसुल, निर्यात अनुदान र बैंकिङ क्षेत्रसँग जोडिएर आएका गुनासोहरूलाई संयन्त्र नै बनाएर समाधान गर्नेमा ढुक्क हुन उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

बजेटमा उल्लिखित नीति कार्यान्वयनले गति लिइसकेको भन्दै उहाँले सरकारले आयात प्रतिस्थापन, निजी क्षेत्रको लगानी सुरक्षा र मुनाफा आर्जन गर्न सक्ने निजी क्षेत्रसँग सहकार्य चाहेको स्पष्ट पार्नुभयो । लगानी र उत्पादनशील अर्थतन्त्रको विकासका लागि सरकार-निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

अर्थसचिव डा. घनश्याम उपाध्यायले निजी क्षेत्रले उठाएका जायज विषयवस्तुहरू महसुस हुने गरी समाधान गर्ने बताउनुभयो। बजेटको कार्यान्वयन सुरु भएको र जहाँ समस्या देखिन्छ, त्यहाँ समाधान गर्दै अघि बढ्ने उहाँको भनाइ छ। उहाँले निर्धक्क भएर आफ्नो कुरा राख्न पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । नेकपा एमालेकी सांसद पद्मा अर्यालले शहरी क्षेत्रमा निष्पक्ष निर्वाचन भए पनि ग्रामीण क्षेत्रमा समस्या रहेको बताएकी छ्न्

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक