एजेन्सी, ६ साउन । फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने ऐतिहासिक कानुन पारित गरेको छ ।
यो कानुन लागू भएपछि फ्रान्स यस्तो कदम चाल्ने पहिलो युरोपेली देश बनेको छ । फ्रान्सको संसद्ले मंगलबार उक्त कानुन पारित गरेको हो ।
राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो कार्यकाल समाप्त हुनुअघि यो प्रतिबद्धता पूरा भएको भन्दै स्वागत गरेका छन् । कानुनअनुसार सेप्टेम्बर २०२६ देखि १५ वर्षमुनिका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन् । नयाँ खाता खोल्ने सबैले उमेर प्रमाणित गर्नुपर्नेछ ।
त्यस्तै, जनवरी २०२७ देखि यो नियम सबै विद्यमान खातामा पनि लागू हुनेछ । त्यसपछि फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक व्यक्तिले आफू १५ वर्ष वा सोभन्दा माथिको भएको प्रमाणित गर्नुपर्नेछ ।
सामाजिक सञ्जाल कम्पनीहरूले फ्रान्सको गोपनीयता नियामक निकायबाट स्वीकृत उमेर प्रमाणीकरण प्रणाली प्रयोग गर्नुपर्नेछ । यद्यपि, यो कानुनलाई लिएर केही चिन्ता पनि व्यक्त गरिएको छ । आलोचकहरूले उमेर प्रमाणीकरणले प्रयोगकर्ताको गोपनीयतामा असर पार्न सक्ने, किशोरहरूले नियम छल्न सक्ने तथा यस्तो प्रणाली पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने बताएका छन् ।
फ्रान्सकी डिजिटल मन्त्री आन्न ले एनाफले भने आवश्यक प्रविधि पहिले नै उपलब्ध भएकाले कानुन छिटो लागू गर्न सम्भव भएको बताएकी छन् । यसअघि अस्ट्रेलियाले पनि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर त्यहाँको ई–सेफ्टी आयोगका अनुसार प्रतिबन्धपछि पनि १६ वर्षमुनिका करिब ७० प्रतिशत बालबालिकाले कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा पहुँच कायम राखेका छन् ।






